११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

माैनता तोड्दै पुरूषोत्तम पाैडेलले भनेः एमाले छाडेर माधव नेपालसँग सति जान सकिन

-पुरूषोत्तम पाैडेल

राजनिती विचारको आधारमा गरिने गर्दछ । राजनितीलाई विधिले निर्देशित गर्नु पर्छ । विचार र विधीको आधारमा चल्ने नेतृत्वले मात्र अशल राजनितीक संस्कार वसाउन सक्छ ।

अहिले राजनितीमा देखिएको निर्णयमा मनपरितन्त्र , संगठनमा अराजकता र विचारमा केवल गाली-गलौज जस्ता कुरा सहज तथा स्वीकार योग्य छैनन । यसले राजनितीमा खस्किरहेको वैचारीक स्तर र गाली-गलौज संस्कृतिलाई मात्र उजागर गरिरहेको छ । सारमा स्खलीत हुदै गएको विचारको राजनितीलाई पुन:र्स्थापीत गर्नु नै आजको प्रमुख चुनौती हो ।

कुनै पनि पार्टीमा लाग्ने, नलाग्ने र छुट्टीने हरेक व्यक्तिको निजी मामिला हो । हरेकले कतै लाग्न र छुट्टीन पाऊछ । कतै लाग्यो भनेर खिसी ट्युरी गर्नु , गाली-गलौज गर्नु र आफुतिर लागेन भनेर तेजोवध गर्नु अशल संस्कार हुदै होईन । खास परिस्थितिमा मान्छेले आफ्नो व्रह्मले देखेको निर्णय गर्दछ । त्यो उसको नैसर्गिक अधिकार हो ।

हरेक व्यक्तीलाई आफ्नै विवेकले निर्णय गर्न दिनु पर्दछ र उसको निर्णयलाई सवैले सम्मान गर्न सक्नु पर्दछ । यो नै अशल लोकतान्त्रिक संस्कार र चरित्र पनि हो ।

आज नेकपा एमालेका सदस्यहरूको सामुन्ने आफ्नै पार्टीको वारेमा निर्णय गर्ने अवस्था आई परेको छ । आफुले मेहनत पूर्वक वनाएको पार्टी भित्र वसेर विकृति तथा विसङ्गत विचार संग लड्दै अघि वढ्ने अथवा अलग भएर पार्टीलाई विग्रनको लागी छोडि दिने ? यो प्रश्नले धेरैलाई सताई रहेको होला ।

निस्चित रूपमा हामीले पार्टीलाई सम्भव भए सम्म सुध्द र सुदृढ वनाऊने अठोट सहित शपथ खाएर आएका हौ । यसमा पुनर्विचार गर्ने नगर्ने हरेक व्यक्तिको स्वविवेकको कुरा हो ।

विगतका धेरै दिनहरू हामीले पार्टी भित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउदा उठाउदै विताएर आएका छौ । मैले पनि ४३ वर्ष देखि यसै पार्टीमा सक्रिय राजनीतिक जीवन विताई सकेकोले आफ्नो कर्मभूमी र मूल पार्टीलाई एकिकृत गर्ने पक्षमा निर्णय गरेको हु ।

अहिले आत्मगत आग्रह भन्दा वस्तुगत परिस्थीतीलाई हेर्नु पर्ने हुन्छ । वस्तुगत परिस्थीतीले अलग पार्टी वनाएर शक्तिलाई विभाजन गर्नु भन्दा पार्टी भित्रै वसेर समस्याहरूको समाधान गर्दै अघि वढ्ने प्रयास गर्नु वढि उपयुक्त देखाउछ ।

विभाजन तिर लाग्नु भन्दा आफुले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ सुध्दीकरण र सुदृढिकरण गर्दै अघि वढ्नु उचित हुने देखिन्छ । पार्टी विभाजन गरेर अनेक शक्तीहरूलाई खेल्ने अवसर दिनु भन्दा हरेकले आफैलाई सच्याएर अघि वढ्नु सर्वथा उचित हुने स्पष्ट छ ।

यस्तो घडीमा हरेकले आवेशले भन्दा विवेकले निर्णय गर्नु पर्दछ । मेरो विवेकले पार्टी र एकताको पक्षमा निर्णय गर्न प्रेरित गरिरहेको छ । मेरो यो निर्णय आफ्नो निर्णय हुन्छ यो आफ्नै लागी हुन्छ । मेरो यो निर्णय कतिलाई उचित र जायज लाग्न सक्दछ । कतीपयलाई यो अनुचित र ननिको लाग्न पनि सक्दछ । जे जस्तो लागे पनि यो मेरो निर्णय र विचार हो ।

तसर्थ आजसम्म मलाई सहयोग, समर्थन र श्रध्दा प्रकट गरी आउनु भएकोमा सवैलाई धन्यबाद दिन चहान्छु । मलाई सारो गारोमा सल्लाह, सुझाव र टिप्पणी गरेर सहयोग गर्नु हुने मित्रहरूलाई भित्री मनवाट शुभेच्छा प्रकट गर्न चहान्छु । आगामी दिन हरूमा समेत यथेष्ठ सल्लाह, सुझाव, आलोचना, र टिप्पणी सहित सहयोग गरी रहनु हुनका लागी सवै मित्रहरूमा विनम्र आग्रह गर्दछु ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १४:१०