११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

काठमाडौँ उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल


१९ साउन, काठमाडौँ । पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

भीडभाडजन्य गतिविधिले सङ्क्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।

सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ ।”

पछिल्लो समय सङ्क्रमणदर बढ्दै गएपछि अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १६:४५