५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भ्रष्टाचार प्रमाणित गर्न पूर्वमन्त्री पद्मा अर्यालको चुनाैती


१९ साउन, काठमाडौँ । नेकपा एमालेकी नेतृ एवं पूर्व मन्त्री पद्मा अर्यालले भ्रष्टाचार प्रमाणित गर्न चुनौति दिएकी छिन । दृष्टि साप्ताहिकले भ्रष्टाचारमा संलग्न भनेर समाचार प्रकाशित गरेकोमा असन्तुष्टि जनाउँदै पूर्व मन्त्री अर्यालले आफूले जुन फाइलमा हस्ताक्षर गरेर भ्रष्टाचार गरेको भनेर आरोप लगाइएको छ त्यो हस्ताक्षर गरेको देखाउन चुनौती दिएकी छिन ।

अर्यालले सामाजिक सञ्जाल मार्फत नियम र कानुन भन्दा बिपरित कुनै पनि अनुचित कार्यबाट एक रुपैयाँ पनि राज्यबाट बढी नलिएको बताउँदै भनेकी छिन ‘आज प्रकाशित दृष्टि साप्ताहिकको समाचारमा मेरो नाम जोडेर जे विषय उल्लेख गरिएको छ त्यसप्रति मेरो ध्यानाकर्षण भएको छ । म भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा झापाको गिरिबन्धु टि स्टेटको फायल सम्बन्धि कुनै निर्णय गरिएको छैन । राजनीतिक रुपमा बैचारिक मतभेदका कारण कसैलाई सिध्याउने उद्देश्य राखेर तथ्यहिन समाचार सम्प्रेषण गर्नेहरुलाइ मैले निर्णय गरेको या हस्ताक्षर गरेको प्रमाणीत गरेर देखाउन म चुनौती दिन चाहन्छु । यस्ता गैरजिम्मेवार मिथ्या र कपोलकल्पित समाचार प्रकशान गरि मेरो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न सक्छु भन्ने कसैलाई लागेको छ भने त्यो दिवा सपना हुनेछ । भौतिक रुपमा यो धर्तीमा रहँदासम्म देश र जनताप्रति समर्पित रहनेछु तर धोका दिने छैन । नियम र कानुन भन्दा बिपरित कुनै पनि अनुचित कार्यबाट एक रुपैयाँ पनि राज्यबाट बढी लिएको छैन र लिने पनि छैन । यो मेरो दृढ संकल्प हो , र सम्पुर्ण शुभचिन्तकहरुलाई यसमा निश्चिन्ता रहनु हुन साथै कुनै भ्रममा नपर्नु हुन आग्रह गर्दछु । ’

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १५:३२