१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रचण्डलाई भीम रावलको जवाफः म ढलेको होइन एमाले ढाल्ने षडयन्त्रका विरुद्ध उभिएको हुँ

९ साउन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति घोर आपत्ति जनाएका छन । प्रचण्डले शनिबार काठमाडौँमा भएको एक कार्यक्रम उपाध्यक्ष रावलप्रति गलत अभिव्यक्ति दिएका थिए । त्यसको जवाफ उपाध्यक्ष रावलले चार बुँदामा दिएका छन ।

यस्तो छ एमाले अध्यक्ष रावलको टिप्पणीः

मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल’प्रचण्ड’ जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रमा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्त भनाईका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ:

-गठबन्धन प्रतिनिधि सभाको पुनःस्थापनाको लागि भएको हो। यस क्रममा शेर बहादुर देउवाजीलाई प्रमं बनाउने सहमति हो
देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डजीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवजीको स्वार्थ महन्थ ठाकुरसंगको संघर्षमा जीत हासिल गर्ने र माधवकुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको थियो।कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।

-प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासंग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?

-हामीले सांसद पद मात्र होइन राजनीतिक भविष्य समेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रमं बनाउन योगदान पुर्यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?

-मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ‘नेताहरू बीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश,जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।

प्रकाशित मिति : July 24, 2021 at 10:40 pm