१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

आज गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री बन्दै

८ साउन, काठमाडाैँ । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदैछ ।  जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन् । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ भने यसअघि नै मन्त्री बनीसकेका छन् ।आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्रीमा नियुक्त हुने भएका छन् ।

माओवादीबाट अर्थ मन्त्रीमा रामजी बराललाई पठाउने भएको छ । वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ ।  यसअघि माओवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भइसक्नुभएको छ । कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन । तर कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ । यस्तै शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ ।

यसअघि कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री भइसकेका छन् । गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको हो । मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन। निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढलाएर नयाँ सरकार बनाउने बेलामा जसपालाई दुई मन्त्रालय दिइने भनेर कांग्रेसले सहमति गरेको थियो। अहिलेसम्मको तयारीमा जसपा एक मन्त्रालयमै सीमित छ।

प्रकाशित मिति : July 23, 2021 at 12:15 pm