१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

देउवा सरकारको अर्को सफलताः बालात्कार आरोपी राणा डिआईजीमा बढुवा

८ साउन, काठमाडौँ । बलात्कार आरोपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले राणालाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। राणा अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत रहेका छन ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिसँगै विभिन्न अपराध कर्ममा परेकाहरूले उन्मुक्ति पाउने सपना देखिएरहेका छन । कतिपयले पुरस्कृत हुने सपना पनि देखिरहेका छन । यही क्रममा बलात्कार आरोपी नै प्रहरीको नेतृत्वदायी पदमा बढुवाको सिफारिसमा परेका छन ।

यसअघि डेढ वर्षदेखि फरार रहेका बालुवाटार जग्गा काण्डका अभियुक्त विजय गच्छादार देउवा सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका थिए भने १४ जनालाई ज्यूँदै इटा भट्टामा जलाउने मोहम्मद अफताब आलमलाई छुटाउने गरी पक्रिया सुरू भएको छ ।

२०७६ माघमा सुनसरीमा एक महिलामाथि बलात्कार गरेको आरोप लागेपछि राणामाथि हिरासतमै राखेर अनुसन्धान चलेको थियो । पछि जिल्ला अदालत सुनसरीले राणालाई हाजिरी जमानीमा छाडेको थियो । उनलाई बलात्कारको अभियोग लागेपछि प्रहरी प्रधान कार्यालयले निलम्बन समेत गरेको थियो । उनी २०७६ माघ १६ गते निलम्बनमा परेका थिए । बालात्कारको अभियोग लाग्दा एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत थिए।

राणाले भने आरोप अस्वीकार गर्दै आएका छन्। पीडित भनिएकी महिलाले एसएसपी राणासँग आफू १५ वर्षदेखि सम्बन्धमा रहेको र राणाकै कारणले श्रीमानसँग सम्बन्ध विच्छेद भएको बताएकी थिइन । प्रहरी संगठनका उनकै सहकर्मीहरूले भने राणालाई अन्याय भएको बताउँदै आएका छन ।

प्रकाशित मिति : July 23, 2021 at 9:46 am