१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता अाजबाट काठमाडौँमा शुरु हुँदै

२९ असार, काठमाडाैँ । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता अाजबाट काठमाडौँमा शुरु हुँदैछ । नेपाल आइटिएफ संघको आयोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता यही असार ३१ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानलगायत देशबाट खेलाडी तथा पदाधिकारी अहिले काठमाडाैँ आइपुगेको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो संघका सदस्य समेत रहेका दक्षिण एशियाली आइटिएफ संघका अध्यक्ष डा राजेन्द्र बलामले जानकारी दिनुभयो ।

प्रतियोगिता संयोजक आइटिएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि ६०० खेलाडीले प्रतिस्पर्धा गर्ने बताउनुभयो । प्रतियोगिताका लागि अनुमानित खर्च रु ४० लाख रहने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ०५:३१