११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

केपी ओलीसँगै पाँच वर्ष जेलमा पढेका नुवाकोटका कुलप्रसादको नजरमा प्रधानमन्त्री ओली

-भोलाराज पाैडेल

११ असार, नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. १० का कुलप्रसाद भट्ट नेपाली लोकसंगीतको पूरानो भाका ख्यालीका ‘गुरु’ मानिन्छन् । अहिले पनि भट्ट निकै जोसिला छन् । कुनै सभा, सम्मेलन तथा मेला महोत्सवमा निम्ता आयो भने हौसिएर गाउँको इज्जत राख्नको लागि पनि ख्याली गाउन र नाच्नको लागि मञ्चमा पुगिहाल्छन् । ‘ख्याली पूरानो संस्कृति हो, हामीले निकै दुःख गरेर यसलाई बचाइरहेका छौँ, भट्ट भन्छन्– ‘पछिल्लो पुस्तामा संस्कृति प्रतिको मोह विस्तारै हराउँदै गएको छ ।’

ख्यालीका गुरु भनेर चिनिने कुलप्रसादको जीवन संघर्ष निकै रमाइलो र अविस्मरणीय रहेको छ । यो कुरा धेरैलाई थाहा छैन । उनी झण्डै ५ वर्ष अहिलेका प्रधानमन्त्री केपी ओलीसँगै जेल बसे । एउटै जेलमा बसेकाले ओलीसँग निक्कै प्रभावित छन् भट्ट । ‘उहाँ मेरो आदरणीय गुरु हुनुहुन्छ‘, भट्ट भन्छन्– ‘जेलमा रहँदा मैले गुरुबाट ठूलो शिक्षा लिने अवसर पाएको छु ।’

वि.सं.२०३४ देखि २०३८ सम्म अहिलेका प्रधानमन्त्री ओलीसँग काठमाडौंको सेन्टर जेलमा बस्ने मौका पाएका भट्ट र ओलीको सुत्ने कोठा फरक फरक थियो । ओली ४ नं. कोठामा बस्थ्येँ, भट्ट ७ नं. कोठामा रहेका थिए । गोलघरको वीचमा रहेको आँगनमा साँझ विहान भेट हुन्थ्यो । ओलीलाई गोलघरबाट लेराउँदा भेट भएको थियो ।

जेल बसाइँको क्रममा आफू र ओलीको कोठा फरक फरक भएकाले धेरै कुराहरु थाहा नभएपछि ओलीसँग गोलघरको आँगनीमा बसेर पढेको स्मरण गर्दछन् । ‘ओलीले बाहिर निस्किएर कतातिरका हुन् ५,६ जना विद्यार्थीलाई पढाउथेँ । त्रिभुवन विश्व विद्यालयमा डिग्री पढ्ने विद्यार्थीलाई अग्रेजी पढाउँथे त्यतिबेला ओली । ‘जेलभित्र पढाउन नपाइने नियम भएपनि अलि ठूला बढाका छोराछोरी हुनुपर्छ, उनीहरुलाई ओलीले अंग्रेजी पढाउँथे ।’ भट्टले पूरानो कुरा स्मरण गर्दै सम्झिए । ‘विहान ७ बजेदेखि १० बजेसम्मको समयमा गोलघरभित्र पढाउने, छलफल लगायतका क्रियाकलाप हुन्थ्यो’– भट्टले भने ।

ओलीले जेलभित्रै विद्यार्थी पढाएको देखेर उनलाई पनि पढ्ने इच्छा भित्रैदेखि आयो, भट्टले २०३४ सालमा आठ कक्षामा भर्ना भए । जेलभित्रै पढ्ने अवसर पाए । उनले पनि जेलभित्रैबाट २०३६ सालमा एसएलसी परीक्षा दिए । जेलभित्रैबाट एसएलसी दोस्रो श्रेणीमा पास पनि गरे उनले । जेल भित्रका विद्यार्थी पढाउनको लागि पनि शिक्षकहरु आउने गरेको स्मरण उनी गर्छन् । त्यसैको प्रभावले होला अहिले पनि मञ्च पाउने वित्तिकै संस्कृति संरक्षणसहित जाने नजानेको अंग्रेजीमा उनले भाषण पनि गर्न भ्याइहाल्छन् ।

त्यहाँ अहिलेका नेकपा एमालेका नेता मोदनाथ प्रसिद, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, यज्ञनारायण कप्तानलगायतका नेताहरुसँग सम्वन्ध बनाएका थिए । जेलभित्रको सबै भन्दा चर्चित एवं नेतृत्वदायी भूमिका ओलीले गर्ने र अरुको तुलनामा ओली चर्चित एवं ‘भिआइपी’को रुपमा हेरिएकाले पनि होला उनको ओलीको कायम रहेको सम्वन्ध अहिले पनि कायमै रहेको छ । ‘आरके मैनाली, मोहनचन्द्र, यज्ञनारायण लगायतका नेताहरु झापा काण्डमा गोलघरमा ल्याएका थिए । भट्टले भने– मोदनाथ प्रश्रित व्यवस्था विरोधी भनेर समातिएका थिए ।’

तस्बीरः यो समय ।

यज्ञबहादुर कप्तान र भिमबहादुर श्रेष्ठलाई २०३७ साल माघ महिनाको जंगलतिर लगेर मारेको भन्ने खवर थाहा भयो । त्यतिबेला जेलभित्र मातृभूमि भन्ने पत्रिका पढ्न दिइन्थ्यो । त्यो पत्रिकामा उनीहरुलाई जंगलमा लगेर मारिएको उल्लेख गरिएको थियो । त्यतिबेला जेलभित्रै मान्छे मारिन्थ्यो । जेलमा रहेका नेताहरु बेलुकी बल खेलेको स्मरण गर्दै भट्टले अहिलेका प्रधानमन्त्री रेफ्रि बनेर बस्ने गरेको बताउँछन् ।

पाँच वर्षको समयमा ओली र भट्टवीच गुरु चेलाको रुपमा सम्वन्ध स्थापित भयो । २०३७ सालमा मोदनाथ प्रश्रित लगायत नेताहरु आममाफी पाएर छुटे । केपी लगायत २०३८ सालमा छुटे । भट्ट २०४० साल असोज ५ जेलबाट मुक्त भए । जेलबाट निस्किएपछि ओलीसँगको भेटघाट र सम्पर्क लामो समयसम्म कायम हुन सकेन । ओली पार्टीको महासचिवदेखि पार्टी अध्यक्षसम्म भए । तर, सामान्य परिवारका भट्टले ओलीसँग कुराकानी र भेटघाट गर्ने वातावरण मिलेन । ओलीका कुरा रेडियो टिभीबाट आउनासाथ चाख लाएर सुन्ने र हेर्ने बाहेक अरु कुलप्रसादमा अर्को कुनै विकल्प थिएन । ‘उहाँ कत्रो संघर्ष गरेर नेता बन्नु भएको हो, हामी साना झारपात जस्तो लाग्थ्यो, देख्ने भेट्ने इच्छा भएपनि भेट हुनै सकेन ।

२०७० सालमा एउटा दुई पूराना मित्रहरु भेट हुने साइत जु¥यो । २०७० को वैशाख १ गते नेकपा एमालेले ककनी, रानीपौवा, चिम्टेश्वर हुँदै देवीघाट पदयात्रा कार्यक्रमको आयोजना ग¥यो । ककनीदेखि देवीघाटसम्म पर्यटन विकास गर्ने, पदमार्ग सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित गरिएको यो पदयात्राले पर्यटन विकास नभएपनि भट्टलाई ओली भेटाउने गतिलो माध्यम बन्यो । २०७० बैशाख २ गते त्यो पदयात्रामा नेकपा एमालेका केन्द्रीय स्तरका थुप्रै नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । पदयात्रा समापन गर्ने स्थान थियो, देवीघाटको पृथ्वी स्मारक । तीस वर्षपछि पूरानो दौतरीसँग भेटघाट गर्ने अभिलाशाले उनी देवीघाट हान्निए ।

देवीघाटमा थुप्रै नेकपा एमालेका नेता कार्यकर्ताहरुको भीड थियो । पदमार्गको पहिचान गरी पर्यटन विकासको सम्भावनाको खोजी गर्नको लागि आयोजना गरिएको कार्यक्रममा यो स्मरणका पंक्तिकार एवं थुप्रै सञ्चारकर्मीहरु पनि सहभागी भएका थिए । देवीघाटमा यताउता डुलिरहेका भट्ट यो पंक्तिकारलाई भने–‘ओली मेरा जेल जीवनका साथी हुन्, एकपटक कुराकानीको व्यवस्था मिलाइदिनु प¥यो ।’

कुलप्रसादलाई देख्ने केपी ओली निकै बेर एक आपसमा अंगालोमा बेरिए । अनि आफ्नी श्रीमति र छोरी पर्ने एक जना युवतीलाई बोलाएर पूरानो साथी चिनाए, र जेल जीवनमा संगै बसेको बारे स्मरण गराए । झण्डै आधा घण्टा बढी समयको भेटघाट तथा कुराकानीपछि कुलप्रसादले ओलीसँगको सम्वन्ध पुर्नजागरण गरेँ । ओली प्रधानमन्त्री भएपछि कुलप्रसाद तीन पटक भेट्न गइसकेँ । ‘मेरो लागि बालुवाटारको गेट खुल्लै हुन्छ ।’ भट्टले भने– ‘राजनीतिक उतावचढाव जे सुकै भएपनि उनी मेरा गुरु हुन् ।’ बालुवाटारमा उनलाई ‘कुलप्रसाद आए भनेपछि रोकतोक हुँदैन, समय मिलेसम्म लामो समय र समय नमिलेमा २–५ मिनेट भएपनि प्रधानमन्त्री ओलीले भट्टसँग कुराकानी गर्छन् र विदाई हुन्छन् । ‘मेरो लागि यही त हो नि आत्मियता, भट्ट ओलीप्रति सद्भाव राख्दै भन्छन्– ‘यत्रो देश चलाउने मान्छेले फुर्सद छैन भने पनि हुन्थ्यो । नभेटी रित्तो अहिले फर्कनु परेको छैन ।’

मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि संघर्षमा होमिएका ओली १४ वर्ष जेल परे । नेकपा एमालेको संगठन विस्तारमा लागेर पार्टीलाई बलियो र मजबुद बनाएका ओलीले पछिल्लो समय सोही पार्टीलाई मिलाउन नसकेको आरोप पनि कार्यकर्ताहरुले नै लगाउँदै आएका छन् । पछिल्लो समय संसद विघटन र पार्टीभित्रको आन्तरिक विवादलाई ओलीले अझै बढाएको आरोप पनि लाग्ने गरेको छ । ओलीले ठीक गरे गलत गरे, त्यो इतिहासले देखाउने छ, उनको आलोचना गरेको सुन्दा भने आफ्नो मन अमिलो हुने उनी बताउँछन् । उनी भन्छन्–’ओलीले गलत गर्दैनन्, ओलीको इर्ष्या गर्नेहरु मात्र उनको आलोचना गरेका हुन् ।‘

यो समयसँगको सहकार्यमा तयार पारिएको सामग्री ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार २०:१५