११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

राष्ट्रिय वाणिज्य बैंकका शाखाका प्रबन्धकसहित दुई कर्मचारी ठगी आरोपमा पक्राउ

१६ फागुन, विराटनगर । विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् ।

सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरिएको हो । यही फागुन २ गते सोही बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई पक्राउ गरिएको थियो ।

सोही घटनामा संलग्न भन्सार एजेन्ट सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका विराटनगर–७ को सातघुम्ती बस्ने ४६ वर्षीय सुरेश बोहरा र ललित बोहरा फरार भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

भन्सार कार्यालयको भन्सार काउन्टरमार्फत प्रज्ञापनपत्र बमोजिमको भन्सार दस्तुरबापतको रकम भन्सार क्लियरिङ प्रयोजनार्थ भन्सार कार्यालयको खातामा जम्मा गर्ने र बैङ्कले भन्सार तिरेको रसिद दिने चलन रहेको छ ।

तर बैङ्कका ती कर्मचारी र भन्सार एजेन्ट मिलेर डिपोजिट गर्ने प्रयोजनार्थ गत पुस ९ देखि माघ १९ गतेका बीच सात दिनमा आठ वटा एकाउन्टपेयी चेक लिएर भन्सार क्लियरेन्स रसिद दिइएको कारण सो बरावरको रकम बैंकलाई हानी नोक्सानी हुन गएको नायब प्रहरी उपरीक्षक कोइरालाले जानकारी गराउनभयो ।

ती आठ एकाउन्टपेयी चेकमा नबिल बैंकको एक, सिटिजन्स इन्टरनेशनल बैंकको तीन, एभरेष्ट बैंकको एक, नेपाल एसबिआई बैंकको एक, सिद्धार्थ बैंकको एक र नेपाल बंगलादेश बैंकको एउटा छन् ।

बैंकका कर्मचारीले ‘गुड फर पेमेन्ट चेक’ वा ‘मेनेजर चेक’ लिनुपर्नेमा सो नलिएको देखिएको छ । पक्राउ परेका दुवै जनामाथि उच्च अदालतबाट म्याद थप गरी बंैकिङ कसूर तथा सजाय ऐनअन्तर्गत कारबाही थालिएको प्रहरी जनाएको छ ।

जाहेरीको आधारमा नगद रसिदको अध्ययन गर्दा उक्त काउन्टरबाट झापा, मोरङ, सुनसरी, पर्सा र काठमाडौँलगायतका ४६ कम्पनी र व्यवसायीको नाममा सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसबाट कारोबार भएका देखिएकाले ती कारोबारको भुक्तानी सम्बन्धमा विवरण माग गरिएको बताइएको छ ।

प्रकाशित मिति : February 28, 2018 at 10:01 pm