३३ अर्बको बोनस शेयर धितोपत्र बोर्डमा दर्ता
२३ असार, काठमाडाैँ । चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ । बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास बैंक, २६ वटा माइक्रोफाइनान्स, १० फाइनान्स कम्पनी, १९ वटा बीमा कम्पनी, नौ वटा जलविद्युत् कम्पनी, १० वटा ‘क’ वर्गका वाणिज्य बैंक र चार वटा अन्य समूहको शेयर दर्ता भएका छन् । बाँकी रहेका अन्यमा होटल, उत्पादन समूह तथा उत्पादनमूलक समूहको समेत बोनस शेयर दर्ता भएको छ । शेयर बजारमा हकप्रद र बोनस शेयरको मात्रा बढ्दा लगानीकर्तालाई फाइदा भए पनि शेयर बजारमा भने त्यसको नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ ।
बोर्डकाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, वेस्टन डेभलपमेन्ट बैंक, काबेली विकास बैंक तिनाहुँ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंक, साइन रेसुंगा विकास बैंकलगायतले बोनस शेयर प्रदान गर्न आवेदन दिएका छन् ।

यस्तै लक्ष्मी बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस शेयर रु एक अर्ब १५ करोड ६३ लाख ६५ हजार २०० बराबरको बोनस शेयर बोर्डमा दर्ता गराएको छ । आफ्ना शेयरधनीलाई बोनस शेयर उपलब्ध गराउने भन्दै आवेदन दिनेमा सानिमा बैक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कर्मसिएल बैंक, सिटिजन बैँक, सनराइज बैंकले पनि चालु आवमा नै बोनस शेयर बोर्डमा दर्ता गराएका छन् ।
यस्तै नेपाल ल्यूब आइल, साल्ट टेड्रिड लिमिटेड, होटल सोल्टी, ओरियन्टल होटलले पनि बोनस शेयर दर्ता गराएका छन् । बोर्डकाअनुसार अरुण भ्याली जलविद्युत् कम्पनी, न्यादी समूह, बरुण जलविद्युत् कम्पनी, रिडी जलविद्युत् कम्पनी र अपि पावर कम्पनीलगायतले पनि बोनस शेयरका लागि आवेदन दर्ता गराएका छन् ।
प्रकाशित मिति : 21:01









