१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुकुलगुण्डा प्रवृत्ति मुर्दावाद !

-सूर्य थापा

सामन्तकाे आफ्नै रवाफ परिचय हुन्छ,

जालीझेली र चाेरकाे झन् आफ्नै चिनारी बनेकाे हुन्छ,

दलालले दलाली गर्छ, अरू केही गर्दैन,

कम्युनिष्टले अरू कसैकाे सेवा गर्दैन, आफ्नाे वर्गकाे सेवा गर्छ,

सच्चा काँग्रेसले ज्यान जाला अरूलाई नेता मान्दैन र

चुनावमा रूखबाहेक अन्यत्र भाेट हाल्दैन,

छाेरी जिताउन गाेलाकारमा भाेट त हाल्नै मान्दैन,

काेही सिल्पट स्वतन्त्रलाई उमेद्वार स्वीकारेर

रूख चिन्ह नै छाडेर माेलमाेलाइ गर्न तयार हुन्न,

माओवादी केन्द्रले गाेलाकार छाडेर

स्वतन्त्र उम्मेदवारकाे अवसरवाद स्वीकार्दैन,

रूख र गाेलाकार चिन्हबेगर चुनाव

आत्मसमर्पण र जनताप्रति विश्वासघात हाे

गिलास चिन्हबाट चुनाव जितेकाे कसैले

काङ्ग्रेसकाे वैशाखी बन्दै ह्वीप जारी गर्दैन,

पार्टीकाे चिन्ह लिएर जितेकाे सांसद

आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासकाे मत माग्दा

समूह बनाईबनाई मतदानमाअनुपस्थित हुँदैन,

रातदिन विभाजनकारी कृत्यकाे याेजना बनाउन सक्रिय

मान्छेले कदापि एकताकाे नक्कली अभिनय गर्न सक्दैन,

भाेट माग्न र जित्न कम्युनिष्ट भई टाेपल्छ,

कम्युनिष्टले नेतृत्व गरेका सरकार ढाल्न

सारा अनैतिक गठबन्धन र घेराबन्दी गर्दै हिड्छ,

जनतन हसाउँछ मतदाता रूवाउँछ,

खासमा जाे जे हाे त्यस्ताे केही गर्दैन,

काेइलीकाे भ्रम दिदैं कागजस्ताे कराउँदै हिड्छ,

पञ्चकाे जतिसमेत इमान राख्दैन,

विदेशीको आदेश तामेल गर्छ,

जीवनभरि कम्युनिस्ट र

काङ्ग्रेसकाे भ्रम निरन्तर दिन्छ,

तर काङ्ग्रेस भन्छ काङ्ग्रेसको जस्ताे काम गर्दैन

कम्युनिस्ट भन्छ, काङ्ग्रेसको भरिया-भराेसा पाे बन्दै हिड्छ,

उल्टै सिद्धान्त, लाेकतन्त्र, इमान र निष्ठाकाे डिङ् हाँक्छ,

देश काेराेना महामारीले आक्रान्त छ,

प्रधानमन्त्री फाल्ने समीकरणकाे रमिता जारी छ,

जाे सरकारलाई काम गर्न असयाेग गर्छ,

उहीँ निर्लज्जताकाे सीमा नाघे भन्छ-

सरकार काेराेना नियन्त्रण गर्न असफल छ !

महामारीको बिषमता छ,

सामान्य स्थितिजस्ताे सहजताकाे माग गर्छ,

महामारीमा ज्यान र अनिकालमा बीऊ जाेगाउन

लाग्नुपर्ने खाँचाे बिर्सन्छ र

अरूलाई दाेष थाेपरेर

पानीमाथिकाे ओभानाेजस्ताे बन्न खाेज्छ,

काेही व्यक्ति विशेषलक्षित हाेइन,

देशमा सर्वत्र सिद्धान्तहीन, स्वार्थी र

विपरित मति हावी छ,

ठाेस परिचयबिहीन जेसुकैवाद नै

सुकुलगुण्डा प्रवृत्ति हाे !

सुकुलगुण्डा प्रवृत्ति – मुर्दावाद !

– एकान्तबास(आइसाेलेसन कक्ष)
२९ वैशाख २०७८

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ०९:५८