२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एनएसएल अक्सन : सुजल श्रेष्ठ सहित यी हुन् ८ सर्वाधिक महँगा खेलाडी

६ चैत, काठमाडाैँ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठ सहित ८ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा विक्री भएका छन् । शुक्रबार भएको अक्सनमा सुजल सहिज तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन् ।

मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीले महगो मूल्यमा भित्रयाएको हो । ए श्रेणीमा रहेका उनीहरुलाई क्लबले २ लाखमा अनुबन्ध गरेको हो । यस्तै ए श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्ड रविशंकर पासवान सहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुबास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले लिएनन ।

नेपाल इभेन्ट्स प्रालिको आयोजना हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि १ सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा बर्गीकरण गरेको थियो । जसमा ए मा २८, बीमा ६३ र सी मा ५८ खेलाडी रहेका थिए । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न ७ सहरका टोलीले सहभागिता जनाउँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार २०:१८