‘माझण्ड’ समूहको बन्दको चाैतर्फी बिरोध, बन्द असफल बनाउन अनेरास्ववियूको अभियान
-प्रशान्तजंग पाण्डे
२१ माघ, काठमाडाैँ । नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहले गर्न लागेको बन्द सदाका लागि बन्द गर्न अनेरास्ववियूले अभियान चलाउने भएको छ । तत्कालका लागि सामाजिक सञ्जालमा ‘बन्द सदाका लागि बन्द गराैँ’ भन्ने व्यानर बनाएर अभियान सुरू गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।
उक्त व्यानर अहिले हजाराैँले फेसबुकमा सेयर गरिसकेका छन । यसअघि संयोजक महरले बन्दको नाममा हुने सबै कामको प्रतिवाद गर्ने चेतावनी दिएका थिए । उनले नेकपाको २३ गतेको सभा प्रभावित गर्ने गरी हुन लागेको बन्द जसरी पनि असफल बनाउनु पर्ने बताएका छन । उनले अब विकास र समृद्धिका लागि सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन ।
उनले भनेका छन ‘२३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु। त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु। साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु।’

यस्तै युवा संघका संयोजक रमेश पाैडेलले पनि माझण्ड समूहले आफ्नाहरुले लुट्न पाएनन् भनेर गरेको नेपाल बन्दको प्रतिकार गर्न अपिल गरेका छन । सामाजिक सञ्जाल मार्फत संयोजक पाैडेलले पद, प्रतिष्ठा र कुर्सी पाईएन र आफ्नाहरुले लुट्न पाएनन् भनेर प्रचण्ड-माधवले गरेको बन्द जनतालाइ सास्ती दिन गरिएको कारण प्रतिकार गर्न अनुरोध गरेका छन ।
संयोजक पाैडेलले भनेका छन ‘सर्वसाधारण जनतालाई सास्ती हुने बन्द , हडताल तथा चक्काजाम जस्ता गतिविधि जस्ले जे सुकै प्रयोजनका लागि गरेको भएता पनि यो नितान्त गलत छ । राजनीतिमा पराजित भएपछि मानिसहरू अपराधीक र जनतालाई सास्ती दिने कार्यमा लाग्छन भन्ने कुरा यस्ता हर्कतले पुष्टि गरेको छ । तसर्थ, खुलेर आम हडतालको प्रतिरोध गर्दै सम्पुर्ण पक्षलाई सर्वसाधारण जनताको पक्षमा उभिन हार्दिक अपिल गर्दछु ।’
यस्तै नागरिक समाजका अगुवा, पत्रकार तथा माझण्ड समूहकै अधिकांश भन्दा बढी कार्यकर्ताले बन्दको बिरोध गरेका छन । पूर्व प्रहरी रमेश खरेलले पनि भिडियो सन्देश दिँदै बन्द हड्ताल कुनै पनि मानेमा स्वीकार्न नसकिने बताएका छन ।
प्रकाशित मिति : २१ माघ २०७७, बुधबार २०:४८












