७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

-भुमराज तिवारी 

रैथाने शब्द झट्ट सुन्दा क्या मज्जा आउँछ । शब्दको मिठाससँगै यसको अपत्यारिलो तर वास्तविक सत्यको खोजीमा सबै मानिसहररू भौँतारिइरहेका पाउँछौ । शहरमा आजकल भुईंमान्छे देखि ठूलाबडा भनाउँदाहरु सबैको चासो मौलिकपन हराएकोमा चिन्ता, चासो, आक्रोश अनि आफ्नो विगतप्रति गौरव गर्दै वर्तमान समय आफूभन्दा धेरै अघि पुगिसकेको निष्कर्ष निकाल्दै बारम्बार पछुताउछ मान्छे ।

सहरमा बसेर पनि गाउँघर, बालापन, आफनो संस्कृति र चाडपर्व, नातागोता अनि आफ्नो वरिपरिको प्रकृति नसम्झने को नै होला र ? पुराना कुरा सम्झदा वा सुन्दा भर्खरै आफ्नो पुर्ख्यौली गाउँ गैहालौ जस्तो भावुकता अनुहारमा व्यक्त हुन्छ तर सहरको व्यस्त जञ्जालले त्यति सजिलै कहाँ उन्मुक्ति दिइहाल्छ र ! फेरी सहरीकरण अनि सामाजिकीकरणका अनेक आयामले गाउँ पनि उ बेलाको गाउँ जस्तो कहाँ रह्यो र ! सबै कुरा छिट्टो छिट्टो परिवर्तन हुँदैछ फिल्मी शैलीमा ।

चिन्ता र चिन्तन गर्ने केही व्यक्तिहरुले आफनो छटपटी र उकुसमुकुसलाई केही त गर्नैपर्छ, हाम्ले नगरे अब साँच्चै ढिला हुन्छ भनेर रैथाने अभियानको हुटहुटीमा लयबद्ध भएको एक वर्ष वित्यो । गाउँको मौलिकपन झल्कने सिप, कृषि उपज, ज्ञान, संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण गर्नु नै रैथानेको मुख्य उदेश्य हो । रैथानेपन जोगियो भने नेपालीपन जोगिन सक्छ, नेपालीपन जोगियो भने मात्रै हाम्रो स्वाभिमान जोगिन सक्छ आर्दश मन्त्र बोकेर चप्पल कारखानामा कार्यालय खोलेर नै रैथाने वस्तुहरुको संकलन तथा वितरणको अभ्यास गर्दै छ ।

दुई दशक भन्दा बढि समय विश्व वन्युजन्तु कोषमा रहेर वन, वन्यजन्तु, संरक्षण, प्रकृति, जैविक विविधता तथा स्थानिय परम्परा र संस्कृतिको वहुआयममा रहेर स्थानिय स्तरमा काम गर्नुभएका तिलक ढकालले रैथाने अभियानको नेतृत्व गर्नुभएको छ । प्रकृति र मानव स्वास्थ्यसँग अनौठो सम्बन्ध रहेको बताउने ढकालले रैथानेलाई मानव स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने अचुक उपायको रुपमा अर्थ्याउनु हुन्छ ।

कोरियाबाट नेपालमा हँसिया आयत हुन थालेको प्रसंग निकाल्दै वहाँले आरन हाम्रो मौलिक विषयवस्तु भएको र यसको वैज्ञानिक महत्व रहेको बताउनु हुन्छ । हामीसँग यस्ता धेरे चिजहरु हाम्रो आँखा अगाडी नै लोप हुदै छन जस्को जर्गेना नगर्ने हो भने नेपालीपन मर्नेमा उहाँ चिन्तित हुनुहुन्छ । गाउँघरमा सप्रेको काक्रो आमाले छानेर असोजतिर टिपेर विया घरको भित्तामा टाँस्ने अनिे खल्पीको अचार खादाँको दशैँ तिहार सम्झदै खल्पी बनाउने सिप तथा विउको संरक्षण गर्ने तरिका र ज्ञान अहिलेको पुस्ताले भुल्दै गएको प्रति वहाँको गम्भिर चिन्ता छ ।

रैथाने विउ र सिप जोगाउन सकियो भने मात्र देश सम्वृद्ध हुने वहाँको तर्क छ । रैथाने संस्कृति अभियानको रुपमा बढ्यो भने शहर र गाउँ विचको दुरी नजिक हुने र आत्मियता बढ्ने वहाँको ठम्याई छ । सकेसम्म रैथानेमा विषादीको कम भन्दा कम प्रयोग गर्न चेतना र संस्कृति बढाउनुपर्ने छ । आजभोली धेरेको मुखमा झुन्डिएको अर्ग्यानिक शब्द सँग रैथानेको आत्मिय सम्बन्ध छ ।

अझ भनौ रैथाने र अर्ग्यानिक एकाघरका दाजुभाई जस्तै हुन । त्यसैले अर्ग्यानिक खान पनि रैथानेको संरक्षण गनुृको विकल्प छैन । शहर उपभोक्ता मात्र भएकोले गाउँलाई शशक्त रुपमा जगाउन जागरण नै ल्याउनुपर्नेछ । पछिल्लो समय पर्यटन व्यवसायको सवैभन्दा फस्टाउँदो र उदयमान पेशा होम स्टे प्रतिको आर्कषण रैथाने चिजको अनुभवको सामिप्यताले गर्दा शहरका हर कोहीलाई लोभ्याउँछ ।

सवै मान्छेलाई होमस्टेमा पुग्ने सुविधा र खर्च नहुन सक्छ तर गाउँ घरको वस्तु दिनहुँ खान नपाए पनि कहिलेकाही चाख्ने सुविधा रैथाने अभियानले काठमाडौमा गर्न खोज्दै छ । हाम्रो कृषि परम्परागत र अनेकौ अप्ठ्याहरुसँग पौठेजोरी खेल्दै अघि बढेकोले पनि यसको सवलीकरण गाउँ गाउँमा नभइ रैथाने अभियान सम्वृद्ध बन्न नसक्ने देखिन्छ ।

अहिले रैथानेले गाउँ गाउँबाट सामान ल्याएर धुने, पखाल्ने, निफन्ने, अनि पोको पारेर भान्सा सम्म लगिदिने व्यवस्था गरेको छ । एक वर्षमा २७ जिल्लाका आठ हजार किसानका दुई सय प्रकारका खाद्य वस्तुहरु बिक्रीवितरण गरिएको रैथानेको तथ्यांक छ । चप्पल कारखानामा विक्री केन्द्र रहेको रैथानेले निःशुल्क होम डेलीभरी दिँदै आएको छ । ढकालसँग गरिएको भिडियो कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार ०६:३०