२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

२४ पुस, काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् ।

कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिनुभयो । “कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो”, उहाँले भन्नुभयो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताउनुभयो । कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जित्नुभएको हो ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १०:५४