९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

सानिमा बैंकको ऋणपत्र आजबाट खुल्ला

१ पुस, काठमाडाैँ । सानिमा बैंक लिमिटेडले आजबाट ४ अर्ब रूपैयाँ बराबरको  ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले साे ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए२ ग्रेडिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त उपकरणलाई समयमा नै वित्तीय दायित्व पुर गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार १०:४८