प्रचण्डको आदेशपछि सभामुख सापकोटा संवैधानिक परिषद्को बैठकमा गएनन्
३० मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आदेशपछि सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को बैठकमा अनुपस्थिति देखाएका छन । प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न सकिदैन तपाइ बैठकमा नजानुस भनेर सभामुख सापकोटालाइ निर्देशन दिएको खुमलटार स्रोतले जनाएको छ ।

सभामुखको बैठकमा अनुपस्थितिका सम्बन्धमा सभामुखका प्रेस संयोजक श्रीधर न्याैपानेले बैठकको तयारी कम भएको र समन्वय कम भएको बैठकमा नगएको जानकारी दिए । संवैधानिक परिषद्को बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । परिषद्का अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको छ । यसअघि आइतबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका सदस्य उपस्थित रहेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने माग गरेको छ ।

संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ अनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ ।
प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १०:३३












