२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

पुरानै भाइरसका सङ्क्रमणहरू

-प्रकाश सिलवाल

यसपालिको महामारीले पनि
औँला उठाउन सकेनछ तिनीहरुलाई
नत्र,
आइशोलेसनमा रहेर पनि
किन गरिरहन्थे
सकीनसकी उही नाफाको हिसाब..?

निरन्तर किन घुमिरहन्थ्यो
बिजुलीको पङ्खा घुमे झैँ
केटीपक्षमा मुटुको धड्कन ?

ठूलै भूकम्पले किन
पटकपटक उठाउन खोज्थ्यो
उनीहरुको घरको खाँबो ?

त्यही खाँबोमा किन उडेस लगाएर
बजिरहन्थ्यो उही पुरानै कर्कश धूनहरु…?

केटा डाक्टर भए रु २५ लाख
इञ्जिनीयर भए रु २० लाख
अधिकृत भए रु १५ लाख
गाडी, सिक्री र औँठी अनिवार्य…।

बुद्धको शान्तिमाला कतिपटक जप्दा
सकिन्छ होला यो कहालीलाग्दो सूची ?
पुर्पुरोमा कतिपटक
समाजवादी हत्केला बजारेपछि
दुख्न छाड्छ होला यो दुःखी टाउको ?

यहाँ सामान्य किसान
र बेरोजगार केटा पक्षका शर्तहरुलाई स्थान छैन
तिनले सुःखसँग छोरी पाल्दैनन् रे !

हाम्रा बा–आमाहरु
जसलाई,
छोरी जन्मिएकै दसकमा आएको
त्यो युग बदल्ने लोकतन्त्र बुझ्नुभन्दा
कठिन लाग्छ
छोरीलाई ‘पराइघर धपाउँदा’का
कथाहरु सुनाउँन…।

बरु कसैले
सुनाइदिए हुन्थ्यो
‘दहेज’ रुपी यस्ता भाइरसका
पुस्तौदी सङ्क्रमण रोक्ने
कुनै खोप बन्दै गरेका
नयाँ नयाँ कथाहरु…!

(शिवपुरी गाउँपालिका, ८, नुवाकोट
हालः काठमाडौँ
सम्पर्कः ९८५११५७६५५, इमेलः [email protected]

प्रकाशित मिति : December 14, 2020 at 8:31 pm