११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

सेवा सुविधासहित बिदाइ गर्न अन्नपूर्ण क्यासिनोका मजदूरको माग

२  असार, काठमाडाैँ । दरबारमार्गस्थित अन्नपूर्ण क्यासिनो मजदूरपीडित संघर्ष समितिले त्यहाँ कार्यरत ९२२ कर्मचारीको पुर्नबहाली वा श्रम ऐनअनुसार सेवा सुविधासहित बिदाई गर्न माग गरेको छ ।

उक्त क्यासिनोले सरकारलाई कर नतिरेका कारण चार वर्षदेखि बन्द भएकाले कर्मचारीले सेवा सुविधा प्राप्त गर्न सकेका थिएनन् । समस्या समाधानका लागि होटल व्यवस्थापनलाई दबाब दिने उद्देश्यले समितिद्वारा आज दरबारमार्गको होटल तथा त्यस वरपर क्षेत्रमा धर्ना दिइएको छ ।


समितिका सहसंयोजक राजन श्रेष्ठले श्रम ऐनले निर्दिष्ट गरेका नियमका आधारमा कर्मचारीलाई सुविधासहित अवकाश वा रोजगारी उपलब्ध गराउन सरकार र होटल व्यवस्थापन दुवै पक्षसँग आग्रह गर्नुभयो ।

समितिका सदस्य गोमा भण्डारीले करीब पाँचदेखि २० वर्ष सेवा पूरा गरेका कर्मचारी रहेको उक्त क्यासिनो नयाँ व्यवस्थापनले खरिद गरेपछि मजदूर विचल्लीमा परेको बताउँदै उहाँले समस्या समाधानका लागि पहल गरिदिन सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो । व्यवसायी तप्तबहादुर विष्टले पुरानो क्यासिनो सञ्चालन गरेकामा हाल विनय तेली साहले नाम परिवर्तन गरी क्यासिनो प्यालेसका नाममा सञ्चालन गर्नुभएको छ ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार २०:०९