३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

२३ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

यसमध्ये २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १६  लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ८० हजार कित्ता पाउनेछन् । सर्वसाधारणले बाँकी १५ लाख २० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।

 न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ ।

यो ऋणपत्रमा छिटोमा पुस ५ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित कित्ताको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०९:२३