७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

मन्त्री पुनद्वारा रोल्पामा १५ शय्याका तीन अस्पताल शिलान्यास

१६ मंसिर, रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा तीन अस्पतालको शिलान्यास गर्नुभएको छ ।
मन्त्री पुनले परिवर्तन गाउँपालिका–६ चप्का, माडी गाउँपालिकाको घर्तीगाउँ र त्रिवेणी गाउँपालिकाको जुँगारमा अस्पताल शिलान्यास गर्नुभएको हो । तीनवटै अस्पताल १५ शय्याका छन् ।

आधारभूत स्वास्थ्यसेवा नपुगेका मुलुकका ३ सय ९६ पालिकामा ५ देखि १५ शय्याको अस्पताल स्थापना गर्ने संघीय सरकारको नीतिअनुरुप रोल्पामा यसै वर्ष १५ शय्याका ५ अस्पताल निर्माण हुँदैछन् । अस्पतालको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री पुनले संवैधानिक प्रावधानअनुसार सरकार जनताको आधारभूत स्वास्थ्य ग्यारेण्टी गर्ने दिशातर्फ अग्रसर रहेको बताउनुभयो ।

‘नयाँ संविधानले स्वास्थ्य, शिक्षा, आवाश, रोजगारी र खाद्य सुरक्षा जनताको आधारभूत अधिकार मानेको छ’, मन्त्री पुनले भन्नुभयो, ‘संविधानले प्रदान गरेको हक जनतालाई दिलाउने क्रममा सरकारले हरेक पालिकामा अस्पताल स्थापना गर्न लागेको हो ।’ मन्त्री पुनले कसैको दयाले नभई यी अधिकार माओवादी जनयुद्ध, जनआन्दोलन र सामाजिक आन्दोलनका बलमा प्राप्त भएको चर्चा गर्नुभयो । मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता विकास, समृद्धि र सुशासन रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य र शिक्षाका साथै सडक, विद्युतीकरण, खानेपानी, सिंचाइ, कृषिको आधुनिकीकरणजस्ता विषयमा सरकारले तीव्र गतिमा काम अघि बढाएको उहाँको भनाइ छ । संघीयता कार्यान्वयनसँगै विगतमा काठमाण्डुको सिंहदरबार केन्द्रित सरकार प्रदेश र स्थानीय तह हुँदै जनताको घरघरमा पुगेको मन्त्री पुनले बताउनुभयो । प्रदेश राजधानी तोक्ने, नामाङ्करण गर्ने, प्रशासनिक संरचना निर्माण गर्ने काममा केही समय लागे पनि अब जनताले महसुस गर्ने गरी सिंहदरबारको अधिकार गाउँमै पुग्ने मन्त्री पुनको भनाइ छ ।

‘हामीले काठमाण्डुको सिंहदरबारलाई थगाउँगाउँमा पुर्याउँछाैँ भनेका थियौं’’ उहाँले भन्नुभयो, ‘विशेषज्ञ चिकित्सकसहित हरेक गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु हाम्रो त्यही प्रतिबद्धताको कार्यान्वयन हो ।’ विगतमा रोल्पाली जनताले विगतमा आधारभूत स्वास्थ्य सेवाका लागि समेत बुटवल र दाङ धाउनुपर्ने तीतो यथार्थ रहेको स्मरण गर्दै उहाँले जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गरिएको र अधिकांश गाउँपालिकामा अस्पताल निर्माण हुन लागेकाले अब रोल्पालीले आधारभूत स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने दिन सकिएको उल्लेख गर्नुभयो ।

विगतमा रोल्पा माओवादी जनयुद्धको केन्द्र रहेकामा अब शान्ति, विकास र मेलमिलापको केन्द्र बन्ने चरणमा रहेको भनाइ उहाँको छ । रोल्पाका १० पालिकामध्ये रोल्पा नगरपालिकामा ५० शय्याको अस्पताल सञ्चालनमा छ । यस्तै थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, सुनील स्मृति गाउँपालिका, रुण्टीगढी गाउँपालिका, उत्तरगंगा गाउँपालिका र सुनछहरी गाउँपालिकामा १५्/१५ शय्याको अस्पताल बन्दैछ । गंगादेव गाउँपालिकामा भने आगामी आर्थिक वर्षमा अस्पताल निमर्भाण गरिने मन्त्री पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 1, 2020 at 3:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/