१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राैतहटमा इज्जत जोगाउन बुबाले आफ्नै छोरीको हत्या गर्न लगाएको खुलासा

१६ मंसिर, राैतहट । छोरीको हत्या गरेको आरोपमा बाबुआमा नै पक्राउ परेका छन। गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता कुमारी साहको हत्या आरोपमा उनकै आमाबाबु पक्राउ परेका हुन्।  अमृताका बुबा राम अयोध्या साह तेली, आमा सितासहितलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाइ प्रहरीले आइतबार सार्वजनिक गरेको थियो।

अनुसन्धानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। आफ्नो इज्जत जोगाउन बुबाले आफ्नै छोरीको हत्या गर्न लगाएको खुलासा भएको छ । माइतीघरमा आमासँग सुतिरहेकी अमृताको आमा ट्वाइलेट गएकी बेलामा अज्ञात व्यक्तिहरुले उनको घरमा छिरेर दाहिने पट्टिको कन्चटमा गोली हानी हत्या गरी फरार भएका थिए ।

प्रहरीका अनुसार मृतक अमृताको सोही स्थानका ३० वर्षीय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो, तर उनका परिवारले २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका–३ बस्ने रुपेश साहसँग जबरजस्ती मागी विवाह गराइदिएका थिए। तर, बिहे भएको केही महिनापछि पति रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेपछि उनी माइतमै बस्दै आएकी थिइन् । उक्त घटना लगतै मृतक अमृता र उनकी प्रेमी सोसिन्द्रमाथि पति रुपेशको जाहेरीको आधारमा ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भएको थियो ।

तर अमृता र उनको पति रुपेशबीच २०७७ साल असारमा सम्बन्धविच्छेद भएको थियो। मृतकका बुबा राम अयोध्याले परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई गत कार्तिक ९ गते १ लाख ५० हजार रुपैयाँ दिई भारतमा लगेर मार्ने योजना बनाएका अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उक्त योजना असफल भएको प्रहरीको भनाइ छ। त्यसपछि पुनः देवाही गोनाही नगरपालिकाका–२ लक्ष्मिनीया करुनीया बस्ने कैमुल देवानलाई १ लाख दिई गोली हानी हत्या गर्न लगाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा आमाबुवासँगै प्रहरीले देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया करुनिया बस्ने अन्दाजी ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने इस्लाम अन्सारी, ३६ वर्षीय शेख इम्ताज, परोहा नगरपालिका–४ का अन्दाजी ४५ वर्षीय छोटेलाल साहलाई पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए।

अमृताको हत्या गरेलगत्तै फरार रहेका मुख्य अभियुक्त कैमुल देवानलाई सर्लाही मलंगवा नगरपालिकामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको एसपी शाहले बताए। उक्त घटनामा संलग्न लक्ष्मण साह भने अझै फरार रहेका खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : December 1, 2020 at 8:30 am