काेराेना संक्रमणका कारण मोरङका पूर्वगाविस अध्यक्ष राईको मृत्यु
९ मंसिर, विराटनगर । मोरङको पथरीका तात्कालिन गाउँ विकास समितिका पूर्व अध्यक्ष तिलक वान्तवा राईको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ। ६६ वर्षीय राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बिहान ४ः३० मा मृत्यु भएको हो।
उनमा कात्तिक २१ गते काेराेना पोजिटिभ देखिएको थियो। काेराेना पोजेटिभ देखिएपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचारक क्रममा स्वास्थ्यमा केही सुधार भएपछि घर आएर आराम गरिरहेका थिए । तर एक्कासी पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई पछिल्लो समय सामाजिक गतिविधीमा सक्रिय थिए। सामाजिक काममा लोकप्रियता हाँसिल गरिरहेका उनी हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष हुन् । राईका एक श्रीमती, ४ छोरी र २ छोरा रहेका छन् । जसमध्ये दीपक नेपाली फुटबलका राष्ट्रिय खेलाडी हुन्।
प्रकाशित मिति : November 24, 2020 at 1:02 pm



