१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

​​​​​​​चलचित्र क्षेत्र खोल्न चलचित्रकर्मीको आग्रह

९ मंसिर, काठमाडाैँ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन् ।

त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको हो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटीएको तर अहिले सम्म कुनैपनि फाइदा लिन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘साच्चै भन्ने हो भने हामीलाई बजेटले पनि समेटेन अति प्रभावितमा । तर राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो । तर त्यसको अहिले सम्म के फाइदा हो भन्ने कुरा आएको छैन् ।’ चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उहाँले बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ।

‘गीत संगित श्रष्टा सर्जक कलाकार प्राविधिक यी सबैको समस्या छ । यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं । हाम्रो भनाई अव हामीलाई छायांकन खोलिदिनुस हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई हामीले अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरापनि लगेर हामीले बुँदागत यो यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं । ’

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरन्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गर्नुभएको हो । त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताउनुभयो । यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवा मुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथिहरु र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौं ।’ चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताउनुभयो । चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अव भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउदै आएको सुविधा पाउने अवस्थामा पुर्यारउन आफुले महासंघमा बसेर काम गर्न चाहेको बताउनुभएको छ ।

अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औं आशन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । सो पदमा रहेर चलचित्र क्षेत्रको नीति नियम, ऐन कानून निर्माणमा सरकारलाई सहयोग गर्ने अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको मेरो उम्मेदवारी किन चलचित्र क्षेत्रमा नाम मात्रै भएर भएन चलचित्र क्षेत्र राष्ट्रिय मान्यता प्राप्त उद्योगमा गयो भनेर मात्र भएन् । त्यसको नीति नियम ऐन कानून लेख्नुपर्ने हुन्छ अनिमात्रै हामीले पाउने फाइदा पाउन सक्छौं ।

राष्ट्रिय मान्यता प्राप्त क्षेत्र भनेको पर्यटन क्षेत्र, कृषि क्षेत्र हो र त्यहिं भित्र अव चलचित्र क्षेत्र पनि पर्यो । त्यसले गर्दा उनीहरुले पाउने सरहको सुविधा चलचित्रले पाउनुपर्छ भनेर त्यसको नीति नियम ऐन कानून लेख्नको लागि म उद्योग वाणिज्य महासंघमा यसपालि पनि उम्मेदवारी दिएको छु ।’ यस्तै आफ्नो ध्यान स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ र आयातलाई घटाएर निर्यात बढाउनुपर्छ भन्ने तर्फ रहेको पनि अधिकारीले स्पष्ट पार्नुभएको छ ।

प्रकाशित मिति : November 24, 2020 at 12:42 pm