एकपटक कोरोना संक्रमण भएकाहरु कम्तीमा ६ महिनासम्म दोस्रो पटक संक्रमित नहुनेः अध्ययन
७ मंसिर, काठमाडाैँ । एकपटक कोरोना संक्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक संक्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययन अनुसार एक पटक कोरोना संक्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक संक्रमित हुने गरी खतरा नभएको पाइएको हो । अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एकपटक संक्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिए ।
यो अध्ययन स्वास्थ्यकर्मीहरूमा गरिएको थियो । यसमा एकपटक संक्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । जो संक्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटकसंक्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक संक्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

संक्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको वर्ष चीनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण विश्वमा ५ करोड ८४ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । ती मध्ये ४ करोडभन्दा धेरै निको भएका छन् ।
प्रकाशित मिति : November 22, 2020 at 10:47 am



