चिनियाँ रक्षा मन्त्री नेपाल आउने
५ मंसिर, काठमाडाैँ । चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौँ आउने भएका छन्। नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औ वर्षगाँठ मनाउन चिनियाँ रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका जनरल वेइ फेङह नेपाल आउने भएका हुन्।
चीनले रक्षामन्त्री नेपाल आउने विषय नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयललाई जानकारी गराइसकेको छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी समेत गरेको छ। गत वर्ष अक्टुवरमा चिनियाँ राष्ट्रपति सि जीनफिङको नेपाल भ्रमणपछि रक्षामन्त्री वेइ फेङह नेपाल भ्रमणमा आउन लागेका हुन्।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौँमा आयोजना गरेको ‘युनानः सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा उनी सहभागी हुने बताइएको छ।
चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सका कमाण्डर रहेका फेङहे सन् २०१८ मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए। तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेलले गत वर्ष चीनको वुहानमा भएको विश्व सैन्य खेलकुदका क्रममा फेङहेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला फेङहेले उपयुक्त समयमा नेपाल आउने बताएका थिए। नेपाल फर्किएपछि मन्त्री पोखरेलले उनलाई भ्रमणको औपचारिक निम्तो पत्र नै पठाएका थिए।
प्रकाशित मिति : November 20, 2020 at 6:29 pm



