१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न, जयनगर–कुर्था रेलमार्ग सञ्चालनबारे छलफल

५ मंसिर, काठमाडाैँ । रेलमार्ग सहकार्य सम्बन्धि नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएकाे छ । भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए ।

उक्त बैठकमा भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा ICON का वरिष्ठ अधिकारीहरुको सहभागिता थियो भने नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक लगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेकाे थियो ।

संयुक्त कार्यदलको उक्त बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गर्यो । यात्रुबाहक रेलसेवासञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गर्यो ।

त्यस्तै बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने Standard Operating Procedures (SDP) बारे पनि चर्चा भएकाे थियाे । तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारु. ३८० करोडभन्दा बढी लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो ।

यस रेलवे लिङ्कमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा DEMU रेल सेट खरिद गरेको छ । हाल भारत सरकारले भारु. २०० करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय बारे छलफल गरेका थिए ।

भारु. ३७४ करोड अनुदान सहयोग अन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन् । रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जनाउनुभयो ।

दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई सुदृढ पार्न हेतु आपसी सहयोगलाई निरन्तरता दिन सहमत भएका थिए ।

प्रकाशित मिति : November 20, 2020 at 12:58 pm