नेवार समुदायले मनाए म्ह:पूजा
३० कात्तिक, काठमाडाैँ । नेवार समुदायले म्ह:पूजा मनाएका छन । कात्तिक शुक्ल प्रतिपदा दिन नेवार समुदायले म्ह:पूजा मनाउने चलन छ। म्ह:पूजा नेवार समुदायले मनाउने माैलिक पर्व पनि हो। यस दिन परिवारका सबै सदस्य भेला भएर म्हःपूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो ।
आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
प्रत्येक वर्ष नेपाल संवत अनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरूको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हःपूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन शान्त हुने धार्मिक विश्वास छ ।

म्हःपूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ । परिवारका सबै सदस्यहरु उमेरकाे हिसाबले जेष्ठताकाे अाधारमा क्रमशः बसेर म्ह:पूजा गरिन्छ।
प्रकाशित मिति : November 15, 2020 at 7:45 pm



