१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

२५ कात्तिक, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभएको छ । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताउनुभयो ।

गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहनुभएका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पार्नुभयो । ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।

मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आगामी दुई वर्षमा कालोपत्रे गर्ने बताउनुभयो । सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाउने भएकाले आगामी दुई वर्षभित्रै सबै पालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने उहाँको भनाइ थियो । यसले पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

यही कात्तिक २८ गतेसम्म गृह जिल्लामै रहनुहुने मन्त्री भट्टराईले सोमबार नेकपाको मेरिङ्देन गाउँपालिका कमिटीको पार्टी कार्यालय र राष्ट्रिय युवा सङ्घ नेपालको पालिका कमिटी कार्यालयको समेत उद्घाटन गर्नुभएको बताइएको छ ।

प्रकाशित मिति : November 10, 2020 at 8:08 am