नेपाली भूमि नाप्न खाेज्ने भारतीय सीमा सुरक्षा बलका अधिकारी स्थानीयबाट लखेटिए
२४ कात्तिक, कञ्चनपुर। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित नेपाल–भारतको विवादित सीमाको निरीक्षण गर्न नेपाली पक्षसंग कुनै समन्वय नै नगरी टोली खटिएको थियो । सो क्षेत्रका नेपाली नागरिकहरुले प्रतिकार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली फिर्ता भएको बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरीले जानकारी दिएका छन् ।
शनिबार र आइतबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली नेपाली पक्षसँग कुनै समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० मा प्रवेश गरेकाे हाे । शनिबार केही स्थानीय नागरिकले देखे तर कुनै प्रतिक्रिया दिएनन् । आइतबार पनि त्यसैगरी नेपाली भूमिमा आएर नेपाली नागरिकहरुको जग्गा नाप्न थालेको देखेर नेपाली नागरिकहरुले प्रतिकार मात्र गरेनन्, एसएसबीको टोलीलाई सो क्षेत्रमा अनाधिकृत रुपमा प्रवेश नगर्न चेतावनी दिँदै त्यहाँबाट लखेटेका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर १० स्थित नेपाल–भारत सीमा स्तम्भ नम्बर ३२ देखि ३५ सम्म नेपाली भूमिमै आएर एसएसबीको टोलीले निरीक्षण गरिरहेको थियो । कञ्चनपुरको माहाकाली, भीमदत्त, बेलडाँडी, बेलौरी र पुनर्वासका विभिन्न क्षेत्रमा भारतीय पक्षले बारम्बार सीमा अतिक्रमण गरिरहेको छ ।
प्रकाशित मिति : November 9, 2020 at 5:19 pm



