१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

आफैँ पनि कोरोनासँग जुधिरहेको भारतले दिएको सहयोगप्रति आभारी छौँः मन्त्री ढकाल

२३ कात्तिक, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफैँ पनि कोरोनासँग जुधिरहेको भारतले दिएको सहयोगप्रति आभारी प्रकट गर्नुभएको छ । आइतबार मन्त्रालयले भारतले उपहार स्वरूप दिएको २८ थान आइसीयु भेन्टिलेटर बुझ्दै भारत सरकार र भारतीय राजदूतलाइ धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो ‘आफैँ पनि कोरोना महामारीसँग जुधिरहेको भारतले दुःखमा साथै छाैँ भनेर गरेको सहयोगका लागि धन्यवाद दिन्छु । यस्ता सहयोगले नेपाल भारत सम्बन्ध अझै मजबुद बनाउन सघाउ पुग्ने निश्चित छ ।’ सो अवसरमा भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहो¥याउनुभयो । साथै, उहाँले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो ।

यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : November 8, 2020 at 10:45 pm