१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेकपाको गुटबन्दीको असर नेपाल बारमा, न्याय परिषद् सदस्य सिफारिसमा गुट भिडन्त

२२ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गुटबन्दीको असर नेपाल बार एशोसिएशनमा परेको छ । न्यायपरिषद्को सदस्य सिफारिसका लागि बारभित्र नेकपाको दुइ गुटका उम्मेदवारको बीचमा मतदान नै भएको छ । मतदानमा बारको संस्थापन समूहका उम्मेदवारले जितेपछि बारले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

न्याय परिषद सदस्यका लागि अधिवक्ता महेश नेपालको नाममा सहमति नभएपछि मतदान भएको थियो । मतदानबाट नेपाल अस्वीकृत हुन पुगे । बारको बैठकमा श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत पाए । तीन मतको फरकमा रामप्रसाद श्रेष्ठ न्यायपरिषद्को सदस्यमा जानका लागि छानिए ।

शनिबार बसेको बारको कार्यसमिति बैठकले राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौँ बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ । बारका तर्फबाट न्याय परिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको हो । बारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : November 7, 2020 at 9:08 pm