२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

छोरीहरू दिल्लीबाट फर्केपछि ओलीसँग प्रधानमन्त्री माग्न बालुवाटार पुगेका थिए प्रचण्ड

१७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय नयाँदिल्ली पुगेको पाइएको छ ।

त्यसपछि छोरीहरू रेणु र गंगा दाहाल दिल्लीबाट फर्के लगत्तै प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेका थिए । व्यापारीको साथमा प्रचण्डको छोरीहरू झापाहुँदै दिल्ली पुगेको खुलेको छ । झापाका नेकपाका एक चर्चित व्यापारीले उनिहरुलाई दिल्ली लैजाने र ल्याउने व्यवस्थापनमा सहयोग गरेका थिए ।

कात्तिक ११ गते काँकडभिट्टाबाट बागडोरा हुँदै रेणु र गंगा दाहाल नयाँदिल्ली पुगेको र त्यहाँ ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केको बुझिएको छ । ‘‘बुबाका प्रतिनिधि भएर गएका छोरीहरूले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ,’’ स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे। ओलीसँग प्रधानमन्त्री मागे ।’’

काठमाडौँ विमानस्थलको प्रयोग गर्दा नयाँ दिल्ली गएको रहस्य खुल्ने भएपछि उनीहरुले बागडोरा विमानस्थल चयन गरेका थिए । नेकपाको अन्तरकलह चर्किदैँ जाँदा नेताहरूको आन्तरिक गतिबिधिका कुरा पनि सार्वजनिक हुँदै गएको छ । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी गम्भीर संकटमा पुगेको भन्दै एकता बचाउनका लागि पहल गर्न सम्पूर्ण नेता कार्यकर्तामा अपिल गरेका छन ।

प्रकाशित मिति : November 2, 2020 at 8:34 am