१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीको दशैँ महँगो

११ कात्तिक, सिमीकाेट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताउनुभयो ।

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ चिनियाँ च्याङ्ग्रा आउँदा आउँदा विगतका वर्षका दशैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विकले बताउनुभयो ।

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दशैँ महँगो भएको अर्का स्थानीय कालु बोहराले बताउनुभयो । खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार रु १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताउनुभयो ।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताउनुभयो । व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उहाँले बताउनुभयो ।

दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका यस पटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् ।

प्रकाशित मिति : October 27, 2020 at 8:24 am