१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विराटनगरमा काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु

४ कात्तिक, मोरङ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट मोरङको विराटनगरमा थप ७ संक्रमितको मृत्यु भएको छ । विराटनगरमा २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । विराटनगरका विभिन्न अस्पतालमा उपचाररत ५ महिला र २ पुरूषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा १/१ जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान साढे ५ बजे कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएपछि भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको पनि कोशी अस्पतालमा आज बिहान पौने ५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हाे ।

यसैगरी कोशी अस्पतालमै सोमबार साढे ६ बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पताल भर्ना गरिएका उनको साँझ मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय संक्रमित वृद्धको पनि उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हाे । असोज २८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको सोमबार मध्यराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धाको पनि मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । उनलाई असोज २४ न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धाको पनि नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । उनी गत शनिबार अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्धाको आज बिहान ८:५० बजे मृत्यु भएको छ ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : October 20, 2020 at 1:17 pm