३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नुवाकोटका तीन स्वास्थ्य चौकी पुनःनिर्माण पछि समुदायलाई हस्तान्तरण

२६ जेठ,नुवाकोट । भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको  बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्यचौकी र विदुर नगरपालिका–१२ स्थित चारघरे स्वास्थ्य चौकी भवन शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ ।

‘भूकम्प पश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको आर्थिक तथा प्राविधिक सहयोगमा सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडिपी मार्फत निर्माण गरिएको विपद् प्रतिरोधी पक्की संरचनायुक्त सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो ।

महादेवफाँटमा निर्माण गरिएको रातमाटे स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै बेलकोटगढी नगर पालिकाका प्रमुख राजेन्द्ररमण खनालले स्वास्थ्य सेवा सञ्चालन अधिकार स्थानीयतहमा प्राप्त भएकाले सुधारका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भौतिक संरचना र स्वास्थ्य सहायता सामग्री भए पनि जनशक्ति कम भएर प्रसूति सेवा सञ्चालनमा हुने कठिनाई अब समाधान गर्ने पनि बताउनुभयो ।

यस्तै, विदुर नगर पालिका–१२ स्थित भट्टगाउँमा निर्माण गरिएको स्वास्थ्य चौकी चारघरेको भवन समुदायलाई हस्तान्तरण गर्दै विदुर नपाका प्रमुख सञ्जु पण्डितले भवन निर्माणले अब गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्थानीयवासीको माग बमोजिम स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कोइकाको सहयोगमा युएनडिपीले निर्माण गरेको स्वास्थ्य चौकीमा आवश्यकपर्ने स्वास्थ्य सहायता सामग्री गुड नेवर्स अन्तर्राष्ट्रिय जिएन आइले उपलब्ध गराएको छ ।

रु ८० लाख बराबरको खर्चमा निर्माण गरिएको उक्त भवनमा बहिरङ, प्रसूति र गर्भजाँच सेवा तथा औषधि कक्ष, स्टोर र कर्मचारी निवाससहित सात कोठा रहेका छन् ।

सो अवसरमा कोइकाको नेपालका लागि आवासीय प्रमुख डा होङ क्यो किम, युएनडिपीको नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेर, जिएनआईको नेपालका लागि आवासीय प्रमुख मीन हो चोई लगायतको सहभागिता रहेको थियो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माणमा कोरिया सरकारको सहयोग कार्यक्रम अन्तर्गत कोइकाले आठ दशमलव चार मिलियन अमेरिकी डलरमा यहाँको ५० श्यया क्षमताको जिल्ला अस्पताल त्रिशूली र दशवटा स्वास्थ्य संस्था पुन–निर्माणको जिम्मेवारी लिएको थियो ।

अब सात वटा स्वास्थ्य चौकीको पुनःनिर्माण जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पुर्ननिर्माण इकाइ प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पबाट यहाँका ८० वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १७:०८