डिभी चिट्ठा २०२२ को आवेदन खुल्यो, कसरी भर्ने ?
२२ असाेज, काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९:४५ बजे (अक्टोबर ७, २०२० ) बाट आवेदन खुला भएको हो।
बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ। नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति १०ः४५ बजेसम्म फर्म भर्न सकिने जानकारी दिएको छ ।
डिभीको आवेदन नि शुल्क रहेको दूतावासले जनाएको छ । दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्। निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।
अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्नेछन्।

प्रकाशित मिति : October 8, 2020 at 12:18 pm



