१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

महिलालाई बन्धक बनाएर हत्या गर्ने सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

२० असाेज, काठमाडौँ । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार विनयले २०७६ जेठ ५ गते सिन्धुपाल्चोक कर्थली–३ की ३६ वर्षीय पम्फा श्रेष्ठलाई आफू बस्दै आएको कोठामा बन्धक बनाई हत्या गरेको खुलेको छ । हत्यालगत्तै श्रेष्ठ फरार थिए । विनयलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती गौरीटोलबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको एसएसपी थापाले जानकारी दिए ।

अनुसन्धानको क्रममा विनयले पम्फालाई २०७६ वैशाख ३० गतेदेखि जबरजस्ती बन्धक बनाई जेठ ५ गते हत्या गरेका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो ।

कागेश्वरी नगरपालिका– गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा बस्ने विनयको कोठामा लगाइएको ताल्चा फोडी हेर्दा पम्फा मृत अवस्थामा खाटमा फेला परेकी थिइन् । पम्फा काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीमा भाडामा बस्थिन् ।

प्रकाशित मिति : October 6, 2020 at 2:26 pm