अस्पतालबाट ट्रम्पको भिडियो सन्देशः स्कुलमा सिके जस्तैगरी मैले कोरोनाबारे धेरै सिकेँ
१९ असोज, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ । कोराेनाबारे स्कुलमा सिके जस्तैगरी धेरै कुरा सिकेको बताउँदै ट्रम्पले भन्नुभएको छ ‘यो कितावी ज्ञानमात्र होइन। मलाई लाग्यो र मैले बुझेँ। यो निक्कै रोचक रहेछ, म पछि यसबारे बताउने छु ।’
कोरोना सङ्क्रमित ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ । ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका बेला ट्वीटरमा भिडियो पोष्ट गर्दै उहाँले आफ्नो स्वास्थ्यमा सुधार भएको महशुस गरेको बताउनुभएको हो ।

ट्रम्पका चिकित्सकहरुले स्वास्थ्य अवस्थामा सुधार आइरहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने जनाएका छन् । उपचारमा संलग्न डाक्टर सिन कोनलेका अनुसार कोभिड १९ पुष्टि भएपछि एकपटक ट्रम्पलाई अक्सिजन समेत दिइएको थियो । चार मिनेट लामो भिडियोमा ट्रम्पले वाशिङ्टनमा रहेको द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले आफू चुनाव प्रचारप्रसारमा फर्किन चाहेको बताउनुभएको छ ।
— Donald J. Trump (@realDonaldTrump) October 4, 2020
३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ट्रम्प अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने तय भइसकेको छैन । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित हुनुभएको हो ।
प्रकाशित मिति : October 5, 2020 at 8:27 am



