मन्त्री बस्नेतद्वारा ५० श्ययाको अस्पतालको शिलान्यास
१६ असोज, जाजरकोट । भौतिक पूर्वाधारको अभावमा चिरा परेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पतालको आधुनिक भवन निर्माणको काम शुरु भएको छ । अघिल्लो वर्ष अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि यो आर्थिक वर्षबाट आधुनिक भवनको निर्माण कार्य शुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।
करिब रु ३० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनको निर्माण गर्न लागेको हो । विसं २०७७ असार २६ गते सिनर्जी, ज्ञानज्योति, क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौँले भवन बनाउने ठेक्का लिएका छन् । त्यस्तै २०७९ पुस २५ गतेभित्र अस्पतालको भवन निर्माण कार्य पूरा गर्ने सम्झौतामा उल्लेख छ ।
विसं २०७२ मा गृहमन्त्री हुनुभएका हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले १५ श्ययाबाट ५० श्ययाको अस्पताल स्तरोन्नति भएको भन्दै उद्घाटन गर्नुभएको थियो । आज उहाँले नै ५० श्ययाको आधुनिक भवन निर्माणको शिलान्यास गर्नुभएको छ । विसं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो । जिल्लाका सबै समस्या समाधान उन्मुख भएर अगाडि बढेको मन्त्री बस्नेतले बताउनुभयो ।

जाजरकोट, रुकुम र डोल्पाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअघि निर्माण व्यवसायीले निर्माण गर्दा बीचमै छाडेर लथालिङ्ग बनाएका अस्पतालको प्रसूतिगृहलगायत भवन अहिले अस्पतालकै पहलमा निर्माण गरिएको छ । जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा र दरबन्दीको विषयमा समेत पहल भइरहेको र यो आर्थिक वर्षभित्र पूरा हुने मन्त्री बस्नेतको भनाइ छ ।
जिल्ला भएर डोल्पा जाने सडकको काम अगाडि बढेको भन्दै उहाँले अब पश्चिम जाजरकोटको छेडा – जुनिचाँदे सडकको विस्तृत योजना प्रतिवेदनको काम शुरु भएर यो आर्थिक वर्षमा कालोपत्रेका लागि काम हुने बताउनुभयो । कुदुमा खानेपानीको समस्या हल गर्न यो आवमा रु ७५ लाख विनियोजन भएको भन्दै अन्य रकमका विषयमा समेत छलफल चलिरहेको उहाँले बताउनुभयो । टेलिफोन टावरका निर्माण भइसक्ने अवस्थामा कोरोनाका कारण ढिला भएको भन्दै अब वातावरण अनुकूल हुन गएकाले सोसमेत समाधान हुने जानकारी मन्त्री बस्नेतले दिनुभयो ।
प्रकाशित मिति : October 2, 2020 at 5:36 pm



