प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ तोक्ने प्रस्ताव प्रदेश सभामा पेश
१६ असाेज, काठमाडाैँ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले प्रदेशको नाम र राजधानी तोक्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रस्ताव पेश गरेर बैठक यही असोज १९ गते सोमबारसम्मका लागि स्थगित भएको छ । प्रदेश ५ को अस्थायी राजधानी हाल रुपन्देहीको बुटवलमा छ । राजधानी कहाँ तोक्ने भन्ने विषय लामो समयदेखि अनिर्णित बनेपछि प्रदेश सभामा प्रस्ताव समेत पेश हुन सकेको थिएन ।

यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो भने प्रदेश ५ को राजधानीका लागि पनि नेकपाका दुई जना अध्यक्षबीच सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको बताइएको छ ।
प्रकाशित मिति : October 2, 2020 at 3:23 pm



