१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

१२ वर्षीया बालिकाको बलात्कारपछि त्रिशुल रोपेर हत्या, राजेन्द्रले यसरी स्वीकार गरे अपराध

१६ असोज, काठमाडाैँ । बझाङकी एक १२ वर्षीया बालिकाको बलात्कारपछि त्रिशुल रोपेर हत्या गरिएको पुष्टि भएको छ । बलात्कार र त्यसपछिको हत्यामा सलंग्न रहेका राजेन्द्र बोहोराले बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

गोठमा गाइलाइ घाँस दिन घरबाट निस्किएकी सम्झनाको राजेन्द्रले बलात्कारपछि हत्या गरेको बताएका छन । दिउँसो ४ बजे घरबाट निस्किएकी सम्झना राति ९ बजे मृत अवस्थामा फेला परेपछि परिवारले प्रहरीमा खबर गरेका थिए । सोही खबरपछि अनुसन्धानमा जुटेको प्रहरीले सोही दिनको राति राजेन्द्रलाइ पक्राउ गरेको थियो ।

प्रहरीले बोहोरामाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । उनले यसअघि पनि सोही गाउँकी एक १३ वर्षीया बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । गत साउन २९ गते बालिका बलात्कार गरेका उनले पाँच सय रूपैयाँ तिरेर बालिकाको खुट्टा ढोकेर उन्मुक्ति पाएका थिए ।

बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काका अनुसार साउन  २९ मा बलात्कृत बालिकाको अभिभावकले पनि राजेन्द्रबिरूद्ध अहिले प्रहरीमा जाेहरी दिएका छन । प्रहरीले उक्त घटना मिलाउन भूमिका खेल्नेहरूलाइ समेत पक्राउ गरेर कारबाही गर्ने जानकारी दिए ।

प्रकाशित मिति : October 2, 2020 at 10:19 am