सुर्खेत विमानस्थलको स्तरोन्नतीका लागि संघीय सरकार र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर
१५ भदौ,काठमाडौं । विमानस्थल निर्माणको लागि संघीय सरकार र प्रदेश सरकार बीच पहिलो पटक समझदारी पत्रमा हस्ताक्षर भएको भएको छ । विहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकार बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशको मुख्यमन्त्री जीबनबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव धनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडल बीच हस्ताक्षर भएको हो ।
सो अवसरमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको बताउनुभयो । संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको दाबी गदै मन्त्री भट्टराईले ‘यो हाम्रो पहिलो समझदारी हो अब अरु प्रदेशसँग पनि समझदारी हुन्छ । प्रदेश १, सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ’ उहाँले भन्नुभयो । विमानस्थल संघीय सरकारको क्षेत्राधिकारभित्र परेपनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने उहाँको विश्वास छ

विमानस्थलमात्र होइन सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्नसक्ने मन्त्री भट्टराईले बताउनुभयो । ‘निजी एयरलाइन्सले नाफा हुने ठाउँमा मात्र उडान गर्न खोज्छन्। हवाई सेवा पुग्नैपर्ने ठाउँमा सेवा दिनका लागि नेपाल एयरलाइन्स बलियो हुन आवश्यक छ। यसमा प्रदेश सरकारले पनि लगानी गर्न सक्ने उहाँको भनाई छ ।
त्यस्तै मुख्य मन्त्री शाहीले यो समझदारी कर्णाली प्रदेशको लागि ऐतिहासिक भएको बताउदै मानवसुचाङका पछि परेको कर्णालाी प्रदेशलाई कृषि र पर्यटन मार्फत माथि उठाउने दाबी गर्नुभयो ।
प्रकाशित मिति : October 1, 2020 at 6:07 pm



