मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने डेविट काठमाडौँबाट पक्राउ
१४ असाेज, काठमाडौँ । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको कान्ति बाल अस्पताल क्षेत्रबाट पक्राउ गरेको हो ।
श्रेष्ठसहितको टोलीले मलेसियामै काम गर्ने दाङका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई उनकी पत्नीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी धम्की दिने गरेको थियो ।

ब्युरोको अनुसन्धानमा श्रेष्ठ, भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ ।
उनीहरुले मध्म रैदासको राहदानी आफ्नो कब्जामा लिई नेपाल आउन दिएका थिएनन् । डेभिड भनिने दुर्गाबहादुर अहिले नेपाल आएको भन्ने सूचनाका आधारमा ब्युरोको टोलीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : September 30, 2020 at 3:43 pm



