१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

जनरल इन्स्योरेन्सको आईपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

११ असोज, काठमाडाैँ । जनरल इन्स्योरेन्स कम्पनी जिआइसीले आज असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन खुला गरेको जनाएको छ ।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको जनाएको छ । आजदेखि बिक्री खुला भएको आईपीओमा सर्वसाधारणले २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार ०८:३४