कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको भवन शिलान्यास, सीमा र नागरिकको सुरक्षा मजवुद बन्दै
१० असोज, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालको दार्चुलास्थित व्यास गाउँपालिका कालापनी क्षेत्रको छाङ्गरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मको एक समारोहका बीच शुक्रबार शिलान्यास भएको छ । गृहमन्त्री राम बहादुर थापा बादलले सशस्त्र प्रहरी बल नेपालको दार्चुलास्थित व्यास गाउँपालिका छाङ्गरुमा स्थापना भएको गुल्मको भवन शिलान्यास गरेका हुन ।

सो अवसरमा गृहमन्त्री थापाले त्यस ठाउँमा स्वास्थ्य तथा अन्य प्रशासनिक कार्यालयहरुको स्थापना गर्ने कुरामा सरकारको दृष्टी पुगेको बताए । सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधामा कुनै कमी हुन नदिने बताउँदै गृहमन्त्री थापाले अब त्यसका लागि व्यासका बासिन्दा अन्यत्र कहीँ जान नपर्ने बताए । गुल्म अनावरण कार्यक्रममा गृहमन्त्री थापाले त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा सरकार लाग्ने र जनताको सुविधाको लागि थप कार्यक्रम ल्याइने बताउँदै सशस्त्र प्रहरी बलको गुल्म स्थापनामा सहयोग पुर्याएकोमा स्थानिय जनतालाई धन्यवाद दिए ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सुरक्षाकर्मीलाई ईमान्दार¸ अनुशासीत र वफादार भई राष्ट्रको सीमा सुरक्षाको जिम्मेवारी र स्थानिय जनताको सुरक्षा उच्च मनोवलका साथ गर्न निर्देशन दिए । कार्यक्रममा बोल्दै दार्चुलाका सांसद गणेश सींह ठगुन्नाले केन्द्र सरकारका गृहमन्त्री छाङ्गरु आउनुभएकोमा स्थानिय जनता हर्षित र उत्साही भएको बताए ।

शुक्रबार नेपाली सेनाको हेलीकप्टरबाट गृहसचिब महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित दार्चुला जिल्लाको छाङ्गरु पुगेका गृहमन्त्री थापाले व्यास गाउँपालिकाका विभिन्न स्थानहरुको स्थलगत अवलोकन गर्नुका साथै स्थानिय वासिन्दाहरुसँग भेटघाट तथा छलफल समेत गरेका थिए । २०७७ साल बैशाख ३१ गते छाङ्गरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना भएकोमा सीमा सुरक्षालाई थप मजवुद बनाउने उद्देश्य अनुरुप सोही बिओपीलाई स्तरोन्नती गरी गुल्ममा परिणत गरिएको हो ।

प्रकाशित मिति : September 26, 2020 at 9:14 pm



