१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गोरखामा जडीबुटी खोज्न जाँदा भिरबाट लडेर १ जनाकाे मृत्यु

७ असोज, गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उहाँको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए । “अहिले लेकमा जुडीबुटी टिप्ने समय हो”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “विशेषगरी निरमसीलगायतका जडीबुटी अहिले त्यस क्षेत्रमा पाइने भएकाले युवाहरु समूह–समूहमा मिलेर जुडीबुटी खोज्न जाने गर्छन ।”

फाइल तस्वीर

घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । घटनास्थल निकै टाढा भएकाले घटनाको ढिलो गरी जानकारी आएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : September 23, 2020 at 4:07 pm