१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कोरोना संक्रमणका कारण काभ्रेमा थप १ जनाको मृत्यु

६ असोज, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडाैँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आउनुभएको थियो ।

फाइल फाेटाे

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित मिति : September 22, 2020 at 12:01 pm