प्याजमा कालोबजारी गर्ने कोटेश्वरबाट तीन व्यापारीको कारोबार रोक्का
१ असोज, काठमाडौँ । कोटेश्वर तरकारी बजारमा प्याज लुकाएर कालोबजारी गरिरहेका तीन व्यापारी कारवाहीमा परेका छन् । प्याजको अभाव भएकाे बेला आलुको बोराले प्याज लुकाएर कारोबार गरिरहेका तीन जना व्यापारी कारवाहीमा परेका हुन् ।
काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा विहान कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको थियो । अनुगमनमा आलुभित्र प्याज लुकाएर कालोबजारी गरिरहेका तीन व्यापारीको कारोबार रोक्का भएको छ । कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।

त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको अर्को निर्देशन जारी नभएसम्म कारोबार रोक्का गरिएको हाे ।
यसअघि बल्खु, कालिमाटी तरकारी बजारमा पनि यसैगरी कालोबजारी गरिरहेका आठ व्यापारी पक्राउ परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा व्यापारीले कालोबजारी शुरु गरेका हुन् । जसका कारण उद्योगमन्त्री लेखराज भट्टसमेत आफै अनुगमनमा निस्केका छन् ।
प्रकाशित मिति : September 17, 2020 at 12:43 pm



