१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अब विध ल्याबमा कोरोना परीक्षणको शुल्क २ हजार मात्र

२९ भदाै, काठमाडाैँ । बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पिसीआर परीक्षण गराउन सकिने भएको हो ।

सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । बिधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको हो ।

अब यो कोरोना उन्मुलन गर्नपर्ने अवस्थामा पुगेको भन्दै भण्डारीले भने, ‘हामीले ल्याबमा लाग्ने खर्चमात्र राखेर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन सहयोग पुग्ने उद्देश्यले रेट घटाएका हौं ।’

उनका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरि शुल्क घटाइएको हो । सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने उनको भनाई छ ।

सामाजिक उत्तरदायीत्वलाई मध्यनजर गर्दै ल्याबले ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई पनि ध्यान दिनेगरि कम शुल्कमा धेरै परीक्षण गराउन आफूहरु लागि परेको बताए । ‘यो अन्ततः सरकार र जनतासँग सहकार्य गरिएको हो । हामी विसुद्ध नाफारहित भएर कोरोना नियन्त्रण महामारीलाई अन्त्य गर्नेगरी सुरुदेखिनै कम मुल्यमा परीक्षण गराउँदै आइरहेका छौं ।’

साथै, वैदेशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ । संचालक भण्डारीका अनुसार दुःख पाएर विदेश जानपर्ने अवस्था भएर रोजगारीको शिलशिलामा जानेहरुका लागि १९ सय रुपैंयामा नै कोरोना परीक्षण गराइनेछ ।

गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो । ल्याबले दैनिक ४ हजार भन्दा बढी कोभिड परीक्षण गर्न सकछ । छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको यस ल्याब ललितपुरको कुपण्डोलमा छ ।

प्रकाशित मिति : September 14, 2020 at 7:35 pm